आयल निगम आर्थिक संकटमा फस्ने संकेत: ६ महिनामै सवा १९ अर्ब घाटा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा १९ अर्ब घाटा बेहोरेको छ।

आर्थिक वर्ष ०७२/७३ देखि निरन्तर नाफामा गएको निगम गत आर्थिक वर्षदेखि घाटामा जान थालेको थियो। गत आवमा २ अर्ब ५७ करोड रूपैयाँ नोक्सान बेहोरेको थियो। चालु आवको पहिलो ६ महिनामै १९ अर्ब २६ करोड रूपैयाँ घाटा भएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

इन्धन खरिद गर्न निगमले नियमित बाहेक कर्मचारी आवास व्यवस्थापनको ३ अर्ब २६ करोड, बिक्रेता तथा जहाज कम्पनीको धरौटी बापतको १ अर्ब ४५ करोड, कर्मचारी बोनस शीर्षकमा रहेको ३ अर्ब ४७ करोड, ह्रास कोषको १ अर्ब ४२ करोड रूपैयाँ खर्च गरेको छ।

अहिलेसम्म विभिन्न प्रयोजनका लागि विनियोजन गरेको रकमबाट इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गरेकोमा अब कठिन दिन आएको निगमले जनाएको छ।

आईओसीलाई आगामि जनवरी २३ मा भुक्तानी गर्न २ अर्ब रूपैयाँ अपुग हुने आयल निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए।

निगमले बुधबार मूल्य वृद्धि गरेको छ। मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा १० रूपैयाँ ७२ पैसा, डिजेलमा ६ रूपैयाँ ३३ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६ सय ४६ रूपैयाँ १६ पैसा घाटा थियो। निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रूपैयाँ घाटा रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *