यस्तो छ कोभिड संक्रमणसम्बन्धि स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनाको दोस्रो साता नेपालका कोभिड संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेले माघको दोस्रो साताको मध्यतिर संक्रमण उत्कर्षमा पुग्ने जानकारी गराएका हुन् ।

उनले त्यसबेला संक्रमितको संख्या दैनिक १९ हजारभन्दा बढी हुनसक्ने आँकलन गरिएको बताए । उनका अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ । यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको प्रक्षेपण रहेको छ ।

पौडेलले दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन पनि मन्त्रालयले राम्रो तयारी गरेको बताए । यसैबीच समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो । छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भीडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकाहरुलाई घरघरैमा पुगेर कोभिडविरुद्धको खोप लगाउन पनि सरकारलाई निर्देश गरेको छ ।

स्वास्थ्य संवेदनशीलतालाई ध्यान राखेर सरकारले स्थानीय तह सरकारमार्फत् गर्भवती, सुत्केरी, वृद्धवृद्धा, अशक्त र बालबालिकाहरुलाई घरैमा पुगेर खोप लगाउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति घर्तीले बताइन् । बैकठमा नेकपा एमालेका सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कोभिड परीक्षणलगायतको काम स्थानीय तहलाई दिने र संघीय सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

उनले सरकारले कोभिड नियन्त्रणका लागि स्वास्थ्य जनशक्तिको समेत परिचालन गर्न नसकेको भन्दै आपत्ति जनाए । नेपाली काँग्रेसकी सांसद चित्रलेखा यादवले कोभिड नियन्त्रणका लागि जनताको घरदैलोमा पुगेर जनचेतनामूलक कार्यक्रम संचालन गर्न सरकारसँग माग गरिन् । उनले जनतालाई निःशुल्क पिसिआर परीक्षण गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिइएको र त्यसको संचालन प्रदेश सरकारले गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए । उनले कोभिड विरुद्ध जनशक्ति परिचालन गर्न समस्या भएको भन्दै उनीहरुलाई भत्ता उपलब्ध गराउने काममा सहयोग गर्न समितिका सदस्यहरुलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *