निवर्तमान कार्यकारी निर्देशक दाहाललाई कारवाही गर्न प्रहरी र अख्तियारलाई पत्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ । मन्त्री आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मङ्गलबार गरेसँगै बुधबार मन्त्रालयले ती दुवै ठाउँमा कारवाहीका लागि पत्र पठाएको हो ।

दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बि म्यानेजेन्टका सञ्चालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि आज पत्र लेखी पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए ।

सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । उक्त पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवद्र्धन गर्न नसकेकाले’कारबाही गर्न भनी उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १४७ मा राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीविना अतिक्रमण, भोगचलन गर्न नपाइने उल्लेख गरिएको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालनमा भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाही गर्न अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई समेत मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले अख्तियारलाई पठाएको पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बि म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । मङ्गलबार नाराणहिटी दरबार सङ्ग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिएसँगै उनको राजीनामा समेत स्वीकृत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *