वीरगंज । नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयानुसार वीरगञ्ज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको प्रजिअ ढकालले बताए । केन्द्रका अनुसार स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकताअनुसार सबै स्थानीय तहमा पठाउन थालिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण र जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोधसमेत गरिएको हो । केन्द्रले कोभिडको नयाँ भेरियन्टले महामारीको जोखिम बढाउने भन्दै पूर्वतयारी तथा व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश सरकारको कोभिड कोषबाट मास्क, स्यानिटाइजरलगायत सामग्री खरिद गरी वितरण गर्ने कामसमेत अघि बढाएको छ ।
नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ
पर्साको वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ । वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमूना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको वीरगञ्जस्थित नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा प्रभाकर पाण्डेले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानमा पछिल्लो पटक गरिएको ऐन्टिजेन परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरुको (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको हो । सङ्क्रमण पुष्टि हुनेहरुमा अधिकाशं ३५ देखि ६० वर्ष उमेर समूहका भारतीय नागरिक रहेका छन् ।
प्रदेश दुईमा कोरोनाको ग्राफ उकालो लाग्दै
छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढ्ेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ ।
गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार/चार, सप्तरी, सर्लाही र पर्सामा एक÷एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । योसँगै प्रदेशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमितहरु सबै होम आइसोलेसन रहेका छन् ।
“मङ्सिरको अन्तिम सातासम्म कोरोना सङ्क्रमण दर स्थिर थियो”, निर्देशक झाले भने, “तर पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो ।”
अब पनि हेलचेक्राइँ गरिए स्थिति बिग्रिन सक्ने उनको भनाइ थियो । कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ । सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश नं २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ । सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशक झाले जानकारी दिए ।
उनका अनुसार एक मात्र डोज खोप लगाउने सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिरहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ । पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यो प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिए ।
“यसरी यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहर आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन”, उनले भने, “त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई भन्यौँ, तर जुन ढङ्गबाट गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन ।”
स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढ्ेको निर्देशक झाको भनाइ छ । यसअघिका कोरोना भाइरस सङ्क्रमणमा अन्य प्रदेशजस्तै यो प्रदेशले पनि ठूलै धनजनको क्षति व्यहोर्नु परेको छ । कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश नं २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् ।
हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छिमेकी मुलुक भारतमा तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहँदा माघको दोस्रो साताबाट नेपालमा पनि तेस्रो लहर फैलिन सक्ने विज्ञहरु चेतावनी दिइरहेका छन् ।
त्यसैले सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमकिता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए ।
“खोप लगाउनेको सङ्ख्या निराशाजनक देखिएको छ”, उनले भने, “त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरु तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ ।”
केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरु, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ ।
यसबाहेक कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाएको बताएको छ । प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँगै जोडिएकाले सीमानाकाहरुमा हेल्थ डेक्स स्थापना गरी एन्टीजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको मन्त्री साहले बताए ।
