६६ प्रतिशतसम्म घट्यो मौसमी तरकारीको मूल्य

काठमाडौं । एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा टाटेसिमी, बन्दा, काउली, गाजर, गोलभेडा, रायोलगायत मौसमी तरकारी र सागपातको मूल्य घटेको पाइएको हो । यतिबेला मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य केही घटेको बताइएको छ ।

महीना दिनअघि प्रतिकिलो १ सय १० रुपैयाँ औसत थोक मूल्य रहेको टाटेसिमीको मूल्य पछिल्लो १ महीनामा ६६ प्रतिशतले घट्दै प्रतिकिलो ३७ रुपैयाँ कायम भएको छ । टनेलको गोलभेडाको मूल्य पनि ५८ प्रतिशतले घट्दै प्रतिकिलो ६५ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ । गाजरको मूल्य पनि करीब ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय १० रुपैयाँबाट ५५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चमसुरको सागको मूल्य पनि ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय ३० रुपैयाँबाट ६५ रुपैयाँमा झरेको छ । स्थानीय काउलीको मूल्य किलोमा १० रुपैयाँले घट्दै ४० रुपैयाँबाट ३० रुपैयाँ, गान्टे मुलाको मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ, सेतो मुलाको मूल्य ३५ रुपैयाँबाट घटेर प्रतिकिलो २२ रुपैयाँ कायम भएको छ । मूल्य घट्नेमा रातो बन्दा, रायोको साग, ब्रोकाउली आदि रहेका छन् । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *