USAID

इजरायलमा कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।

कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन् ।

खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् । तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।

देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले आइतबार मात्रै गरेको हो । कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।