जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

सर्लाही। पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ ।

वि सं २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो । पशुपतिनाथ मन्दिरभित्र मुसाले विभिन्न स्थानमा प्वाल पार्दै गएको र दलिनसमेत फेर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन टोलीले दिएको थियो । अध्ययनअनुसार जीर्णोद्धार गर्नुपर्नेमा अहिले मन्दिरको गजुर क्षेत्रको बिग्रिएको छत्रावली मात्र मर्मत कार्य गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता डा घनश्याम खतिवडाका अनुसार मन्दिरको पहिलो तलाको मात्र अध्ययन भएको हुँदा जीर्णोद्धार गर्न नसकिएको हो । त्यसैले अब दोस्रो तला समेतको नापजाँच हुनेगरी कार्य अगाडि बढाइएको छ । कहाँ के समस्या छ भन्ने जाँच गर्न पनि समस्या रहेको छ ।

प्रचलनअनुसार वर्षको एक पटक बालाचतुर्दशीका दिन मात्र मन्दिरको माथिल्लो तलामा जान पाइन्छ । त्यसरी जान पाउने पनि पशुपतिनाथका बिसेट र भण्डारी मात्र हुन्छन् । उनीहरूलाई सबै प्राविधिक ज्ञान हुँदैन । तथापि उनीहरूलाई सामान्य प्राविधिक विषयमा जानकारी गराएर पठाइन्छ । तर त्यो अपूर्ण नै हुने गर्छ ।

डा खतिवडाका अनुसार पशुपतिनाथका पुजारीसमेत कहिल्यै जान नपाउने मन्दिरको छतको भित्री भागमा नाथका बिसेट र भण्डारी मात्र जान पाउने भएकाले जीर्णोद्धारका लागि मन्दिरको दोस्रो तलामा उनीहरूबाटै नापजाँच र अवस्था अवलोकन गर्नुपर्ने भएकाले यसमा समस्या देखिएको हो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *