माओवादी महाधिवेशन: पदाधिकारी १५ जना हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी संख्या बढाउने भएको छ। पदाधिकारी तहमा पुग्न चाहने आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न अन्य पार्टीको सिको गर्दै माओवादीले संख्या बढाउने भएको हो।

केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, एक कोषाध्यक्षसहित १५ पदाधिकारी रहने छन्। यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा राखेका थिए।

बैठकले अनुमोदन गरेको यो प्रस्ताव महाधिवेशन बन्दसत्रमा पेस गरिनेछ। बन्दसत्रबाट पारित भएपछि यो कार्यान्वयनमा आउनेछ। एमालेले जस्तै माओवादीले पनि बहुपदीय प्रणालीलाई संस्थागन गर्न खोजेको हो। माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिएको छ।

माओवादीमा अध्यक्षपछि धेरै कार्यकारी अधिकार प्रयोग गर्ने महासचिवका लागि धरै आकांक्षी देखिएका छन्। जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्ति बस्नेत, पम्फा भुसाललगायतले महासचिव बन्ने इच्छा जनाएका छन्।

नयाँ नेतृत्व छान्न महाधिवेशनमा देशभरबाट १६ सय ३१ प्रतिनिधि सहभागी छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *