गुगलभन्दा लोकप्रिय अनलाइन साइटको स्थानमा अब टिकटक

गुगललाई जितेर टिकटक अब सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ । भाइरल भिडियो एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी ’हिट’ पाउन थालेको छ ।

सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउडफ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको हो । इन्टरनेटका वेबसाइटहरूको नयाँ ’वरियता सूची’ मा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो र त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थनमा रहँदै आएको छ ।

गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइटहरू प्रथम दश स्थानमा थिए । क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ’ट्राफिक’ को निगरानी गर्ने उसको उपकरण क्लाउडफ्लेअर रेडारको प्रयोग गरेर डेटाहरू अनुगमन गर्ने गरिन्छ ।

टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको छ । मानिसहरू लकडाउनका बेला घरैमा बस्नुपर्ने अवस्थामा उनीहरूले मनोरञ्जनका उपायहरू खोज्दै गर्दा टिकटकमा पनि धेरै जाने गरेको हुनसक्छ । यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ ।

बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *