USAID

ऐतिहासिक रानीपोखरी महानगरपालिकालाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी बिहीबार कामपालाई हस्तान्तरण गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन् । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत काम अझैँ बाँकी छ ।

उक्त काम भने शहरी विकास मन्त्रालयले गर्नेछ । स्वामित्व हस्तान्तरणपछि प्रमुख शाक्यले रानीपोखरी पुनःनिर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको बताए ।

पुनःनिर्मित ऐतिहासिक सम्पदा कामपाको स्वामित्वमा आएको भए पनि यो कामपाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्तिको हो भन्दै महानगर उपप्रमुख हरिप्रभा खड्गीले यसको संरक्षण गर्नु सबैको साझा दाहित्व भएको बताइन् ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । रानीपोखरी पुनःनिर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेदेखि शुरु भएको थियो ।

प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले करिब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनःनिर्माण गर्ने काम चुनौतिपूर्ण भए पनि पूरा भएको भन्दै खुसी व्यक्त गरे । पुनःनिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनःनिर्माणका लागि उपभोक्ता समितिमार्फत आठ करोड १५ लाख र पहिलो चरणअन्तरगत नै सौन्दय अभिवृद्धि, बालगोपालेश्वर मन्दिर निर्माण, पुनःनिर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।

ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा कामपाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन ।

अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् ।

पोखरीको निर्माणकार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५)मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७÷ईसं १६७०) मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ ।

उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.