एजेन्सी । रियल म्याड्रिडका पुर्व कप्तान सेर्जियो रामोसले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति लिग वान अन्तर्गत भएको खेलमा पीएसजी लोरिएन्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लोरिएन्टमा भएको खेलमा घरेलु टोलीको लागि थोमस मोन्कोन्डुइटले एक गोल गर्दा पीएसजीको लागि माउरो इकार्डीले एक गोल फर्काए । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा लोरिएन्ट बराबरीमा रोकिन बाध्य भयो । खेलको ४० औं मिनेटमा एन्जो लिको पासमा थोमसले गोल गर्दै लोरिएन्टलाई खेलमा अगाडि बढाएका थिए ।
८५ औं मिनेटमा सेर्जियो रामोस रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पीएसजी १० खेलमा समेटिएको थियो । रामोस दोस्रो हाफमा नुनो मेन्डेसको स्थानमा मैदान छिरेका थिए । यस्तै दोस्रो हाफको अतिरिक्त समयमा हकिमीको पासमा इकार्डीले गोल गर्दै पीएसजीको हार टारे ।
बराबरीसँगै पीएसजी १९ खेलबाट ४६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । समान खेल खेलेको लोरिएन्ट १६ अङ्कको साथ पुछारबाट दोस्रो स्थानमा छ ।