काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को नामकरण र राजधानीका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न टोली गठन गरेको छ। लोसपाले सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो।
उक्त टोलीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्ने भएको हो। जनता समाजवादी पार्टीले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन मंगलबार लोसपाले पनि वार्ता समिति गठन गरेको हो। लोसपाको वार्ता टोली सदस्यमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरीलाई राखिएको छ।