धनगढी । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड बाहिरिएको छ । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो । फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् ।
मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरीर अलग छ। तपाईँ एक÷दुई दिनमा थाहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा बताएका छन् । प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ।
उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ । त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते नै तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । ‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं,’ एसपी अधिकारीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ। डग स्निफिङ पनि गराइएको छ।’
स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन्। जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन् ।
स्थानीयका अनुसार दास भने नेपाल–भारत गरिरहन्थे। एक प्रहरी अधिकारीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै सो क्षेत्रमा लागुऔषधकै विषयमा भएको विवादले विभत्स हत्या भएको हो।
