चाक्सीबारी बैठकमा पौडेलको प्रस्तावः सबैजना लड्ने हो भने म पार्टीबाट बिदा लिएर घरमै आराम गर्छु

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षमा सभापतिको साझा उम्मेदवार चयनमा सकस भएको छ । बुधबार दुई पटक बसेको पौडेल पक्षको बैठकले पनि उम्मेदवार चयन गर्न नसकेपछि अब बिहीबारको भाका सारिएको छ ।

मंगलबार बसेको पौडेल पक्षको बैठकले बुधबार साँझसम्म उम्मेदवार टुंगो लगाएको निर्णय गरेको थियो । तर बुधबार साँझ नेता प्रकाशमान सिंहको चाक्सीाबरीस्थित निवासमा बसेको बैठकमा पनि उम्मेदवार चयनमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेले बिहीबार आकांक्षी बाहेकका केन्द्रीय सदस्यहरुको बैठक बसेर विकल्प दिने बताएका छन् । उनले भने,‘आकांक्षीहरु बसेको बसेको बसेको बैठकमा नेताहरु त्यति खुल्नुहुन्न । अब हामी पहिला बैठक बसेर उहाँहरुलाई विभिन्न विकल्प दिन्छौं।’

बैठकमा वरिष्ठ नेता पौडेलले आकांक्षीहरु नमिले आफू पार्टीबाट विदा हुने बताएका छन् । कांग्रेस नेता डा.रामशरण महतका अनुसार बैठकमा पौडेलले सबैजना लड्ने भए आफू पार्टीबाट बिदा हुने प्रस्ताव गरेका छन् ।

महतले भने,‘उहाँले सबैजना लड्ने हो भने म पार्टीबाट बिदा लिएर घरमै आराम गर्छु भन्नुभयो । बैठकमा स्थिति हेर्दा भने मिल्ने अवस्था छैन।’ बैठकबाट बाहिरिने क्रममा पौडेलले भने कुनै प्रतिक्रिया जनाएनन् ।

बैठका नेता सिंहले सभापतिका लागि आफ्नो अडान छाडेका छैनन् । मंगलबारको बैठकमा पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सिंह र शेखर कोइराला मिले आफूहरु पछि हट्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *