बिबिएलमा सन्दीपको टोली हुरिकेन्स पराजित

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मीलित होबर्ट हुरिकेन्स बिग बास लिगको आफ्नो पहिलो खेलमै पराजित भएको छ । बुधबार दिउँसो भएको खेलमा सिड्नी सिक्सरसँग १४ रनले पराजित हुँदै होबर्टले प्रतियोगिताको शुरुवात हारबाट गरेको हो ।

जितको लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको होबर्टले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो । होबर्टको लागि पिटर हेन्डकम्बले ४७ रन जोडेपनि जितको लागि पर्याप्त रहेन । हेन्ड्सकम्बले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । डार्की सर्टले २१, मात्थेउ वेड र कालेब जेवेलले २०/२० रन बनाउँदा जोर्डान कोक्सले १० रनको योगदान गरे ।

सिड्नीको लागि टोम कुरानले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । हाडेन केरले ३ ओभरमा १५ रन दिएर २ विकेट लिँदा क्रिस जोर्डान, बेन्जामिन मानेन्टी र स्टेभ ओकेफेले समान १/१ विकेट लिए ।

यसअघि औरोरा रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । सिड्नीको लागि मोइसेस हेर्निक्वेसले सर्वाधिक ७३ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । टोम कुरानले २७ र जेम्स भिन्सले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

होबर्टको लागि थोमस रोजर्सले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । नाथन इलिसले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिँदा सन्दीप लामिछाने, जोएल पेरिस र टिम डेभिडले १ विकेट लिए ।

जितसँगै सिड्नी २ खेलबाट ७ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । पराजित होबर्ट १ खेलबाट १ अंक जोड्दै पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *