अहिलेको खोपले ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्छः डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिडविरुद्धका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको जनाएको छ ।

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरियन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनाई आएको हो । तर ओमिक्रोन भेरियन्टमा खोपको असर अन्य भेरियन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको डब्ल्यूएचओका डा. माइक रायनले बताएका छन् ।

उनले भने,‘हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन गम्भीर रोग र अस्पताल पुर्याउने सन्दर्भमा हालसम्मका सबै भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन् र (ओमिक्रोन विरुद्ध) त्यस्तो नहुने आशा गर्नुपर्ने कुनै कारण छैन।’ प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरियन्ट वा अन्य स्ट्रेन भन्दा बढी बिरामी नपार्ने देखिएको उनले जानकारी दिए ।

अरू विज्ञहरूले समीक्षा नगरेको दक्षिण अफ्रिकामा गरिएको अध्ययनका अनुसार फाइजर खोप कोभिडको सुरुवाती स्ट्रेनसँग तुलना गर्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी हुन सक्छ । ओमिक्रोन भेरियन्टविरुद्ध फाइजर खोपको प्रभावकारिताबारे थप तथ्याङ्क आगामी दिनहरूमा प्राप्त हुने अपेक्षा गरिएको छ ।

नयाँ भेरियन्ट विरुद्ध मोडेर्ना, जोन्सन एन्ड जोन्सन र अन्य खोपहरूले कस्तो काम गर्न सक्छन् भन्ने विषय बारे उल्लेख्य डेटा प्राप्त भइसकेको छैन । ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो । सुरुमा यो भेरियन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो जहाँ हाल धेरै पटक कोभिडबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दो क्रममा छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका एक जना प्रवक्ताका अनुसार प्रारम्भिक सङ्केत अनुसार ओमिक्रोन डेल्टा भेरियन्टभन्दा धेरै सङ्क्रामक छ । तर यो भेरियन्टले मानिसहरूमा कत्तिको गम्भीर प्रभाव पार्न सक्छ भन्ने विषय भने अझै स्पष्ट छैन ।

अमेरिकामा वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्याएको देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *