सरकारलाई लगानीमैत्री नीति बनाउन ढकालको आग्रह

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा अर्थतन्त्रको विकासका लागि लगानीमैत्री नीति बनाउन सरकारसँग आग्रह गरेका छन् ।

उनले विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अब्बल बनेको बताए । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६८औँ वार्षिक साधारणसभाको सोमबार बुटवलमा उद्घाटनपछि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र लक्षित नीति बनाउँदा सरोकारवालाको सुझाव सल्लाह लिन आग्रह गर्दै यसो गर्दा त्यसमा निजी क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए ।

उनले बुटवलको बमघाट–वसन्तपुर केबुलकार निर्माण सम्पन्न भएपछि बुटवलसँगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गरे ।

सभामा सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सङ्घले खेलेको भूमिकाको चर्चा गरे । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री हुन आग्रह गरे ।

प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीका लागि सङ्घले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसके पनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बन्दै गएको बताए । निजी क्षेत्रसँगको सहकार्यबिना विकास सम्भव नभएको बताउँदै उनले बुटवलले निजी क्षेत्रलाई अगाडि लगाएर विकासका पाइला चालेको दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *