बैंकिङ कारोबारका लागि कामपा र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौं । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ ।

वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा भए पनि काउन्टर खोल्नुपर्ने सम्झौतामा उल्लेख छ । कामपालाई सेवाग्राहीले बुझाउनुपर्ने सबै प्रकारका रकम सोझै बैंकमा जम्मा गरिने छ । सम्झौतापछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कामपाको आर्थिक कारोबार पूर्ण रुपमा बैंकमार्फत हुन थालेपछि वित्तीय सुशासन कायम हुने बताए ।

“अब सबै वडामा बैंकको शाखा हुनेछ,” उनले भने, “आर्थिक कारोबार अनलाइन प्रणालीबाट सञ्चालन हुनेछ ।” बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले कामपासँगको साझेदारी महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । बैंकले महानगरको केन्द्रीय कार्यालयमा एटिएमको सुविधा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *