विवादका कारण राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो ।

महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्न देशभरबाट प्रतिनिधि छनोटमा नपरेका नामसमेत मतदाता नामावलीमा समावेश गर्न खोजिएपछि विवाद भएको आरोप लगाइएको छ ।

उम्मेदवारको नामावली फाराम वितरण, मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारको नाम दर्तालगायत काम आज बिहान ११ बजेसम्म हुनुपर्ने कार्यसूची रहेकामा त्यसो हुन सकेको छैन ।

नेता सुन्दर पाण्डेका अनुसार सर्वसम्मत नेतृत्वका लागि प्रयास गरी विवाद व्यवस्थापन गर्न लागिएकाले केही समयपछि सबै कार्य सञ्चालन हुने छन् । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । निर्वाचनको कार्यतालिका शनिबार राखिएको छ ।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्नेछ । बन्दसत्रमा प्रस्तुत भएका सामाजिक, आर्थिक र राजनीतिक प्रस्तावका साथै संशोधित विधान पारित भएकोे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *