रोनाल्डोको कीर्तिमानी दुई गोलमा युनाइटेडको रोमाञ्चक जित

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै कीर्तिमानी ८ सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा ब्रुनो फर्नान्डेजले एक गोल थपे । आर्सनलको लागि इमिले स्मिथ रोवे र मार्टिन ओडेगार्डले समान १/१ गोल गरे । खेलमा शुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा आर्सनल हार स्विकार्न बाध्य भयो । खेलको १३ औं मिनेटमा इल्नेको पासमा स्मिथ रोवेले गोल गर्दै आर्सनललाई खेलमा अगाडि बढाएका थिए ।

४४ औं मिनेटमा फ्रेडको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा बराबरीमा ल्याए । ५२ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा रोनाल्डोले कीर्तिमानी गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डो व्यक्तिगत ८ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

५४ औं मिनेटमा मार्टिनेलीको पासमा ओडेगार्डले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए । ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-२ गोलको अग्रता दिलाए । डि-बक्सभित्र ओडेगार्डले फ्रेडलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती नगरी व्यक्तिगत ८ सय १ गोल गरे ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड ३-२ गोलले विजयी भयो । जितसँगै युनाइटेड १४ खेलबाट २१ अङ्क जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल समान खेलबाट २३ अङ्कको साथ पाँचौ स्थानमा यथावत छ ।

अपराजित क्यारिक

तत्कालीन प्रशिक्षक ओले गनर सोल्सारलाई बर्खास्त परेपछि टोली समालेका माइकल क्यारिकले अन्तिम खेलमा जित निकालेका छ्न् । वाटफोर्डसँगको लज्जास्पद हारपछि युनाइटेडले ओलेलाई बर्खास्त गरेको थियो । त्यसपछिको ३ खेलमा टोलीको टचलाइनमा रहेका क्यारिकले च्याम्पियन्स लिगमा भिल्लारियल र प्रिमियर लिगमा आर्सनललाई पराजित गर्दा चेल्सीसँग बराबरी खेले ।

अब सिजनको अन्तिमसम्मको लागि राल्फ राङ्निकले टोलीको मुख्य प्रशिक्षकको पद समाल्नेछन् । युनाइटेडले यस अघिनै राल्फलाई सिजनको अन्तिमसम्मको लागि अन्तरीम प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ । त्यसपछि राल्फले आगामी दुई सिजनक्लबको सल्लाहकारको रुपमा काम गर्नेछन् । राल्फले आज आर्सनलसँग भएको खेल स्ट्यान्डबाट नियालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *