भारतको कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन पुष्टि

दक्षिण भारतको कर्नाटक राज्यमा दुई जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको छ । सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो ।

सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण ‘सङ्क्रमण हुन सक्ने उच्च जोखिम’ भएको बताएको छ ।

भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो । ती परीक्षणको परिणाम अझै आइसकेको छैन ।

अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ । बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ । भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन ।

सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ । कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *