भीम रावलसहितका पदाधिकारीलाई भोट नहाल्ने सूची सार्वजनिक

काठमाडौं। चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका अर्का प्रत्यासी भीमबहादुर रावलसहित पदाधिकारीलाई भोट नहाल्ने सूचीसहितको पर्चा बाँडेका छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि एमाले महाधिवेशनमा आज बिहान चार बजेदेखि मतदान सुरु भएको छ । महाधिवेशनमा प्यानल नबनाउने घोषणा गरेको ओली पक्षले भीमबहादुर रावलसहित पूर्वमाओवादीका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतको नामसमेत पर्चामा उल्लेख गरेको छ । पर्चामा टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई पनि भोट नहाल्न उल्लेख गरिएको छ ।

यस्तै, प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।

यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट धकेलेर बाहिर निकालेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *