मेस्सी चम्किँदा पीएसजीको सहज जित

एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सी चम्किदा पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार बेलुकी सम्पन्न खेलमा साइन्ट इटिएन्नेलाई ३–१ गोलले हराउँदै पीएसजीले लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

पीएसजीलाई जित दिलाउन मार्कुइन्होसले दुई गोल गर्दा एन्जल डि मारियाले एक गोल थपे । तीनै गोलमा लियोनल मेस्सीले एसिस्ट दिएका थिए । इटिएन्नेको लागि डेनिस बोउअङ्गाले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा इटिएन्ने पराजित हुन पुग्यो । खेलको २३ औं मिनेटमा बोउअङ्गाले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

४५ औं मिनेटमा टिमोथे कोलोज्याक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इटिएन्ने १० खेलाडीमा समेटिएको थियो । त्यसपछि भने खेलमा पीएसजी हाबी भयो । पहिलो हाफको अतिरिक्त समयमा मेस्सीको फ्रि–किकमा मार्कुइन्होसले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए । ७९ औं मिनेटमा मेस्सीकै पासमा डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस्तै दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा मेस्सीकै क्रसमा मार्कुइन्होसले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–१ गोलको सहज जित दिलाए । जितसँगै पीएसजी १५ खेलबाट ४० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ । पराजित इटिएन्ने समान खेलबाट १२ अङ्क जोड्दै लिगको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *