एजेन्सी । मुख्य प्रशिक्षकको रुपमा जाभी हर्नान्डेजले डेब्यु गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एस्पानियोललाई १-० गोलले पराजित गरेको हो ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपेएले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४८ औं मिनेटमा डिपेएले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए ।
विपक्षी खेलाडीले डिपेएलाई डि-बक्स एरियामा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना १-० गोलले विजयी भयो । यससँगै बार्सिलोनाको मुख्य प्रशिक्षकको रुपमा जाभिले पहिलो खेलमै जित निकालेका छन् ।
जितसँगै बार्सिलोना १३ खेलबाट २० अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित एस्पानियोल १४ खेलबाट १७ अङ्कको साथ ११ औं स्थानमा रहेको छ ।