अध्यक्षमा ओलीकै निरन्तरता, वरिष्ठ उपाध्यक्षमा को ?

काठमाडौं। एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् ।

एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् । अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन् ।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन् । ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन ।

तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन् । पूर्व नेपाल–खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन् । एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन् । यद्यपि, औपचारिक रूपमा भुसालले अझै अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन् । कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको।आरोपसमेत लगाइरहेका छन् ।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली समूह एक ठाउँमै रहेका छन् । पूर्वमाओवादीबाट एमाले भएका नेताहरूले समेत ओलीकै नेतृत्वमा आफूहरू समेत सर्वसम्मत आउन खोजेका छन् । पूर्वनेपाल–खनाल समूहमा रहेका नेताहरू समेत ओली क्याम्पमा पुगेकाले ओली सर्वसम्मत वा निर्वाचन जे भए पनि अध्यक्षमा दोहरिने पक्का रहेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *