काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्र सरकारकलाई कमजोर बनाउन नभएर निकट भविष्यमा हुन लागेको राष्ट्रिय सभालगायतका निर्वाचनका लागि बनेको बताएका छन् ।
नेता लेखकले राष्ट्रिय सभालगायतका निर्वाचनमा सहमतिका साथ प्रस्तुत हुने उद्देश्यले पाँच दलीय संयन्त्र बनेको बताएका छन् । संविधान र कानुन विपरीत सरकारलाई दिशानिर्देश र निगरानी गर्ने या हस्तक्षेप, नियन्त्रण र दबाब सिर्जना गर्नका लागि बनेको होइन, यो स्थायी र लामो समय रहने उनको भनाइ छ ।
नेता लेखकले राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धन सहमति साथ जाने दाबी पनि गरे । त्यो प्रयोगले ल्याउने परिणाम अनुसार अरु निर्वाचनमा पनि सहकार्य हुने उनको भनाइ छ । उनले थपे, “राजनीतिक संयन्त्र निर्वाचनबारे छलफल गर्न बनेको हो । निर्वाचनबारे गठबन्धन दलमा वैचारिक विविधता छ । कार्यकाल पूरा गरेर गर्ने कि समयभन्दा पहिले एकैपटक गर्ने भन्ने विचार आएका छन् । समयमै होला वा चाँडो होला । निर्वाचन सरे पनि संविधान र कानुन बमोजिम हुन्छ, नसरे पनि संविधान र कानुन बमोजिम हुन्छ । त्यसमा हामी खुला छौं ।” एमसीसीलाई आवश्यकताभन्दा बढी विवादमा ल्याइएको आरोप लेखकले लगाए ।
