काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि १५ कात्तिकदेखि बन्दी प्रत्यक्षीकरण रिट मात्रै पेसी तोकिँदै आएकोमा मंगलबारबाट भने नियमित प्रक्रियाका सबै मुद्दा पेसी सूचीमा राखिएको थियो ।
न्यायालयलाई विवादमा मुछ्ने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीश विगत १७ दिनदेखि इजलास बहिष्कार गरेर आन्दोलनमा छन् । उनीहरूको आन्दोलन मत्थर बनाउने रणनीतिका साथ सुरुमा बन्दी प्रत्यक्षीकरण रिटको मात्रै पेसी तोकेपछि न्यायाधीश इजलास फर्किएका थिए ।
पछिल्लो समय प्रधानन्यायाधीश आफ्ना लागि इजलास तोके बन्दी प्रत्यक्षीकरण रिट पनि नहेर्ने अडानमा रहेका न्यायाधीशले मंगलबार बन्दी प्रत्यक्षीकरणमा मात्रै सुनुवाइ गरे । १४ कात्तिकमा आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश जबराले पठाएपछि आन्दोलनरत न्यायाधीशले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा सम्मिलित वार्ता टोली बनाएको थियो ।
सो वार्ता टोलीसँगको छलफलपछि आफ्ना लागि इजलास नतोक्ने र अन्य न्यायाधीशका लागि बन्दी प्रत्यक्षीकरण रिट मात्रै तोक्ने सहमति भएपछि सोहीअनुसार १५ कात्तिकदेखि बन्दी प्रत्यक्षीकरण रिटका लागि मात्रै पेसी तोकिएको थियो ।
प्रधानन्यायाधीशले मंगलबार १० वटा इजलासमा २ सय ९८ मुद्दाको सुनुवाइ सूची राख्दा एउटा मात्र बन्दी प्रत्यक्षीकरण रिट रहेको थियो । बाँकी सबै नियमित प्रकृतिका मुद्दा थिए । बन्दी प्रत्यक्षीकरण रिट मात्रै हेरेका न्यायाधीशहरूलाई नैतिक दबाब दिने उद्देश्यले प्रधानन्यायाधीशले अब सबै प्रकृतिका मुद्दा सुनुवाइका लागि पेसी तोक्ने भएका छन् ।राजधानी दैनिकबाट