काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले न्यायपालिकाको विवाद नेताहरुले र राजनीतिक समस्या न्यायाधीशहरुले समाधान गर्नुपर्ने अवस्था आउन दिन नहुने औंल्याएका छन् । न्यायालयभित्र राजनीति र न्यायपालिकाभित्र राजनीति छिर्ने रोगले लोकतन्त्र धरापमा पर्ने उनको टिप्पणी छ ।
जसपा अध्यक्ष यादवले भने, “न्यायपालिका र राजनीति छुट्टाटछुट्टै क्षेत्र हुन् । त्यसैले आआफ्नो क्षेत्रका समस्या आफैंले समाधान गर्नुपर्छ । न्यायपालिकाभित्र राजनीति, न्यायपालिकाभित्र राजनीति छिर्न दिनुहुँदैन । न्यायालयको विवाद नेताहरुले, राजनीतिको समस्या न्यायालयले टुंगो लगाउने भन्दा पनि यसमा संयमित भएर निकास खोज्नुपर्छ ।”
न्यायपालिका विवादबारे पाँच दलीय गठबन्धनभित्रको संयन्त्रले छलफल गरेर सामूहिक रुपमा निर्णय लिने यादवले बताए । उनले भने, “न्यायापालिकाको स्वतन्त्रता र राजनीतिक निर्णयका बीचमा एउटा लक्ष्मणरेखा हुनुपर्छ । अहिले तीलको पहाडजस्तो बनाइएको छ । विद्वान् अधिवक्ता र न्यायमूर्तिहरुबाटै न्यायालयले निकास पाउँछ ।”
गठबन्धनले प्रधानन्याधीशविरुद्ध महाभियोग लगाउने निर्णय गर्छ कि गर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “महाभियोगबारे म भविष्यवाणी गर्न सक्दिनँ । पाँच दलमा छलफल भइरहेको छ । अहिले हामी पक्ष र विपक्षमा किन बाँडिने ? न्यायालय पक्ष र विपक्षमा बाँडिएर राजनीति गर्ने थलो होइन । सत्य र न्यायका पक्षमा त सबै उभिनुपर्छ नि ।” पाँच दलीय गठबन्धन आगामी चुनावसम्मका लागि बनाइएको उनले दाबी गरे ।