विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान विपरीत परमादेश मार्फत् आफ्नै विश्वास र मर्यादा गुमाएको आरोप लगाएका छन् ।
पार्टी जिल्ला कमिटी मोरङले सोमबार विराटनगरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा अध्क्ष ओलीले सर्वोच्च अदालतले ’सेटिङ’मा राज्यसत्ता परिवर्तन गराउँदा आफ्नै मर्यादा गुमाएको बताएका हुन् ।
उनले राष्ट्रपतिको अधिकारसमेत खोसेर आफ्नो नेतृत्वको सरकार विस्थापित गर्न ’सेटिङ’ गरेको खुलासा भएको बताए । उनले सरकार परिवर्तन गर्नेतर्फ लागेर स्वतन्त्र न्यायालयको धज्जी नै उडेको बताए ।
अध्यक्ष ओलीले सेटिङमा जागिर खाने कर्मचारीले राज्यसत्ता परिवर्तन गर्दा अहिले सर्वोच्च अदालत विवादमा फसेको बताए । यस्तै सेटिङका अरु बुँदा विस्तारै खुल्दै जाने र त्यसपछि झन् सर्वोच्चको शाख गुम्ने निश्चित भएको उनको दाबी थियो ।
उनले भने, ‘पाँचदलीय गठबन्धन सर्वोच्चसँग दुना र कचौरामा माग्न गएका थिए । तर सर्वोच्चले उनीहरूको मागभन्दा बढी टपरी र थालमै दिएर पठाउँदा सर्वोच्च अदालतको विश्वास संकटमा पर्यो ।’