सत्ता गठबन्धन प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने निष्कर्षमा छैनः शिक्षामन्त्री

काठमाडौं। शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले सत्ता गठबन्धन प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने निष्कर्षमा नपुगेको बताएका छन् । मन्त्री पौडेलले भने, “नेपाल बार न्याय क्षेत्रको महत्त्वपूर्ण निकाय हो । बारले चलाएको आन्दोलनबारे हाम्रो ध्यानाकर्षण भएको छ । तर न्यायालयको विवादमा गठबन्धन या सरकारले हस्तक्षेप गर्न मिल्दैन । हामी प्रधानन्यायाधीशविरुद्ध महाभियोग लैजाने कुनै निष्कर्षमा पुगेका छैनौं ।”

शिक्षामन्त्री पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अदालतलाई राजनीतिककरण गरेको भन्ने कुरामा प्रमाण नपुग्ने जिकिर गरे । उनले थपे, “मन्त्रिपरिषद् विस्तार नितान्त प्रधानमन्त्रीको कार्यक्षेत्र हो । त्यसको जस, अपजस सरकारलाई नै जान्छ । गजेन्द्र हमाल नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुनुहुन्छ । प्रधानन्यायाधीशसँग उहाँको व्यक्तिगत सम्बन्ध हुन सक्छ । तर प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे गठबन्धनमा कुनै छलफल चलेको छैन ।”

गठबन्धनभित्र यथास्थितिमा एमसीसी पारित गर्ने सहमति नभएको पनि उनले स्पष्ट पारे । उनले भने, “एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री र प्रचण्डले भन्नुभएको होइन । एमसीसी केही रकमको विषयमात्र नभएर राष्ट्रियता, सावैभौमसत्ता, अखण्डता, प्रचलित ऐन, नियम कानुनबारे केही प्रश्न उठेका छन् । त्यसमा परिमार्जन भयो भने सहयोग र अनुदान नलिने भन्ने होइन । यो दलविशेषको मात्र होइन, राष्ट्रिय सहमति गरेर जाने विषय हो ।”

माओवादी सकियो भन्नु वाहियात, भ्रमपूर्ण र कपोलकल्पित कुरा भएको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *