पूर्ण मात्रा खोप लगाएका यात्रुलाई २० महिनापछि अमेरिकी सीमा खुला हुँदै

अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै सोमबारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्दैछ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए ।

ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो । नयाँ नियमसँगै विमानसेवाहरूले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन् ।

आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् । युनाइटेड एयरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ भने डेल्टा एयरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ ।

पेरिसको एक ट्राभल कम्पनीका प्रमुखले उक्त निर्णयसँगै आश्चर्यजनक बुकिङ देखा परेको रोयटर्स समाचार संस्थालाई बताएका छन् । कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो । अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *