काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्मा विश्वासको मत लिदै छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा पाण्डे नियुक्त भएका थिए ।
गत गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मंगलबारको प्रदेशसभा बैठकले छलफल गर्नेछ ।
नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।
पाण्डेलाई नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जसपाको समर्थन छ । सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।