नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै पहिलो चरणको विरोध सकेर दोस्रो चरणको तयारीमा रहेको बारले सोमबार बिहान साढे १० बजे आन्दोलनमा ऐक्यवद्धता जनाउन उपस्थितिका लागि अनुरोध गरेको हो । बारले हातमा कालोपट्टी बाँधेर कात्तिक १४ गतेदेखि १७ गतेसम्म विरोध प्रदर्शन गरेको थियो ।

यसैबीच, बारले आइतबार आगामी आन्दोलनका कार्यक्रमबारे इकाईका पदाधिकारीसँग छलफल गरेको छ । नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आइतबार २५ इकाईका २९ जना पदाधिकारीको सुझाव लिइएको छ ।

सोमबार पनि बारका इकाईका पदाधिकारीबाट सुझाव लिने क्रम जारी रहनेछ । इकाईका पदाधिकारीले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा एकमात्र विकल्प भएको सुझाव दिएका पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा न्यायिक विचलन ल्याएको भन्दै सर्वोच्चका १९ न्यायाधीशले पनि इजलास बहिष्कार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *