वार्नर चम्किदा अष्ट्रेलियाको शानदार जित

एजेन्सी । ओपनर डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि आईसीसी टि-२० विश्वकप क्रिकेटको समुहचरणको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हाराउँदै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

जितसँगै अष्ट्रेलिया ५ खेलबाट ८ अंक जोड्दै समूह १ को दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेस्ट इण्डिज ५ खेलबाट २ अंक जोड्दै समूहको पाँचौ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । आजै इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिच हुने समूहको अर्को खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । यसअघिनै इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरिसकेको छ ।

जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.२ ओभरमै २ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै लक्ष्य भेट्टायो । अष्ट्रेलियाको लागि डेभिड वार्नर र मिट्चेल मार्सले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए । वार्नरले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८९ रन जोडे । मार्सले ३२ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए ।

वेस्ट इण्डिजको लागि अकेल होसेइन र क्रिस गेलले समान १/१ विकेट लिए ।

यसअघि आबुधाबीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इण्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । इण्डिजको लागि किएरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए । उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै इण्डिजको लागि इभिन लेविसले २९, शिमारों हेटमायरले २७, एन्द्रे रसेलले १८, क्रिस गेलले १५, बार्भोले १० र निकलोस पोरानले ४ रनको योगदान गरे ।

अष्ट्रेलियाको लागि जोश हज्लेवुडले ४ ओभरमा ३९ रन दिएर ४ विकेट लिँदा मिट्चेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाको नाममा १/१ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *