एजेन्सी । पूर्व खेलाडी जाभी हर्नान्डेज क्याटलान क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका छन् । हालसम्म क्याटलान क्लबले कुनै आधिकारिक जानकारी नदिएपनि कतारी क्लब अल सादले शुक्रबार जाभीले बार्सिलोनाको लागि क्लब छाडेको जनाएको हो ।
झन्डै साढे दुई वर्ष अल सादको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका ४१ वर्षीय जाभीले अब बार्सिलोना समाल्नेछन् । जाभीको कतारी क्लबसँग अझै दुई वर्षको सम्झौता रहेपनि बार्सिलोनाले रिलिज क्लज तिर्दै पूर्व खेलाडीलाई प्रशिक्षकको रुपमा क्लबमा भित्र्याएको हो ।
जाभीले खेलाडीको रुपमा बार्सिलोनाबाट ७ सय ६७ खेल खेलेका थिए । जुन ७ सय ७८ खेल खेलेका लियोनाल मेस्सीको भन्दा मात्र कम हो । उनले क्लबबाट ८ ला लिगा र ४ च्याम्पियन्स लिगसहित थुपै उपाधि जित्दै २४ वर्षपछि सन् २०१५ मा बार्सिलोना छाडेका थिए ।
त्यसपछि अल सादमा ४ वर्ष बिताउँदै ४ उपाधि जितेका जाभी सन् २०१९ मेमा खेलाडीबाट प्रशिक्षकको भूमिकामा आएका थिए । गत सिजन जाभीको प्रशिक्षणमा अल सादले कतार कप र कतारी सुपर कपको उपाधि उचालेको थियो । यस सिजनपनि कतार स्टार लिगमा अल साद अपराजित रहेको छ । हाल अल साद ९ खेलबाट २५ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ ।
स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिड र रायो भाल्लेकानो सँग पराजित भएसँगै बार्सिलोनाले तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम प्रशिक्षकको रुपमा रहेका सेर्जी बार्जुआनको नेतृत्वमा बार्सिलोनाले आल्भेससँग बराबरी खेलेको थियो भने च्याम्पियन्स लिगमा ड्यानामो किभलाई हराएको थियो ।