काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुरसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई कसरी संयुक्त पत्र लेख्न मिल्छ भनी प्रश्न गरेका छन् ।
नेता डा. कोइरालाले भने, “एमसीसीलाई पत्र पठाएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्ड जानुअघि भनेर गएको भए पनि हुन्थ्यो, फर्केर आएपछि किन भन्नुभयो ? देशको प्रधानमन्त्री र एउटा पार्टीको अध्यक्षले एमसीसीलाई संयुक्त पत्र लेखेर दिन मिल्छ कि मिल्दैन ? प्रधानमन्त्रीले कुन हैसियतले पत्र लेखनुभएको हो ? सभापतिको हैसियतमा कि प्रधानमन्त्रीको ? एमसीसीमा अब खेलाँची गर्नुहुँदैन ।”
नेपाली कांग्रेस एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा रहे पनि यसमा विपक्षी एमालेको पनि साथ लिनुपर्ने डा. कोइरालाले बताए । उनले भने, “एससीसी संसद्को बिजनेस हो । पत्र लेखेर मात्र संसद्बाट पास हुने होइन । फेरि यो राजनीतिक दलहरुको मात्र नभएर नागरिकहरुले चासो दिएको विषय हो । यसमा एमालेलाई पनि साथ लिएर जानुपर्छ । यो विवाद बढाउने भन्दा दलहरुसँग सरसल्लाह गर्नुपर्ने विषय हो ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु लागि खुसीकै कुरा हुने उनले बताए । उनले थपे, “देउवाजी भारत जानु या मोदीजी नेपाल आउनुमा अन्यथा लिने कुरा छैन । भारतसँग हाम्रो सम्बन्ध नराम्रो पनि होइन । छिमेकी मुलुकबीच कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि आउन सक्छ । यो विश्वभरिकै अनुभव हो ।”
कांग्रेसका सभापति, पदाधिकारी, पूर्वपदाधिकारीले तीन वटै निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहेको खुलासा गर्दै डा. कोइरालाले आम कार्यकर्ताले नमानेकाले मंसिरभित्र गर्नुको विकल्प नरहेको बताए ।