दाङ । नेकपा एमालेका नेता शङ्कर पोखरेलले सर्वोच्च अदालतका न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कानून पढेका बुझेका, जानेकाले न्यायालयलाई बन्दी बनाउन नहुने बताए ।
पोखरेलले जनताको आवश्यकता, दीर्घकालीन विकास निर्माण र पूर्वाधारका क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक प्रगतिमा रोक लगाउने कामले जनतामा निराशा छाएको बताए ।
उनले ओली नेतृत्वको सरकारले ल्याएको एक हजार ४०० सडक आयोजना खारेज गर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको आरोप लगाए । उनले एमालेले जनताको जनमतलाई उच्च सम्मान गरेर अघि बढेको हुँदा सरकार बाहिर रहेपनि जनताकै साथमा रहेको उल्लेख गरे ।
उनले भने, “ एमाले एकतावद्ध छ भन्ने कुराको सन्देश हालै सम्पन्न देशभर वडा र पालिका अधिवेशन एकै पटक गरेर उदाहरण दिएको छ । एमालेले देखाएको व्यवस्थापन अरु दलले देखाउन सक्छन् कि सक्दैनन् भन्ने विषय चुनौतीपूर्ण छ ।”
विधान अधिवेशन, नीति निर्माणसँगै नेतृत्व निर्माणका लागि आशन्न दशौँ महाधिवेशनको प्रक्रिया अघि बढेको हुँदा नेकपा एमाले थप बलियो, सङ्गठित बनेर अघि बढ्ने सङ्कल्प गरेको उनले बताए ।
