काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले अन्तर्राष्ट्रिय र देशभित्रका प्रतिगामी शक्ति आफूलाई सिध्याउने षड्यन्त्रमा लागेको बताएका छन् ।
नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतामा माओवादीप्रति उभार आउन थालेपछि उनीहरु आत्तिएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्र सिध्याउन प्रचण्ड सिध्याउनुपर्छ भनेर प्रतिक्रियावादीहरु लागेका छन् । अन्तर्राष्ट्रिय र देशभित्रका प्रतिक्रियावादीहरु प्रचण्डलाई हराउनैपर्छ भन्नेमा छन् । तर त्यो गलत हो । हामीलाई व्यक्ति हारजितको ठूलो कुरा होइन लाग्छ । जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ लागेका छौं । यसरी सक्रिय भयौं भने आगामी चुनावबाट देशको नेतृत्व लिन सक्छौं भन्ने छ ।’
उनले माओवादी नभइ देश र जनताले सुख नपाउने दाबी गरे । उनले पहिचानको लडाइँमा पार्टी र नेता कार्यकर्ता चुकेको भन्दै यसको बहसलाई अगाडि बढाउन आग्रह गरे । उनले परेदेखि जस्तोसुकै संघर्षका लागि तयार रहेको र पार्टीलाई समाजवादी क्रान्तितर्फ लैजाने योजना रहेको बताए । उनले माओवादी केन्द्र अरु पार्टी जस्तो नभएको बताए ।
उनले भने,‘माओवादी अर्कै जातको हो । हामी शिथिल हुँदा प्रतिक्रियावादीहरुले टाउको उठाए । प्रतिगमन नै गर्न खोजियो । हेर्दाहेर्दै हामी त्यस्तो जनयुद्ध गरेको, संविधानसभा गराएको शक्ति जिउँदै हुँदा हुँदै हेर्नुस् त परिवर्तन उल्ट्याउन लागेको । यसकाविरुद्ध हामी लड्नै पर्छ । जस्तोसुकै अप्ठ्यारो आएपनि लडाइँलाई आगाडि आउनुपर्छ भनेर प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा आयौं । हामीहरुलाई के चेतना आयो त भन्दा जनता परिवर्तनका उपलब्धिको रक्षाका लागि तयार छन् भन्ने सन्देश आयो । र जनता उत्रिएपछि प्रतिगनकारी परास्त हुन्छन् भन्ने सन्देश पनि गयो ।’
अहिले षड्यन्त्र सिद्धियो र हामीले पूरै जित्यौं भन्ने अवस्था नरहेको भन्दै उनले षड्यन्त्र परास्त गर्न माओवादी बलियो र जनतासँगको सम्बन्ध सुदृढ हुनुपर्ने बताए ।