सबै दलका मुद्दा छन्, मिलेमतो गरिरहेका छन्, महाभियोगको आशै छैनः कर्ण

काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले न्यायालय बदनाम भइरहेकाले प्रधानन्यायाधीशको सम्बन्धमा मुख्य दलहरुले सोच्नैपर्ने बताएका छन् । कर्णले भने, “धेरै दिनदेखि सर्वोच्च अदालतमा काम हुन सकेको छैन । कानुनमन्त्रीले गाँठो फुस्काउने काम गरेका छैनन्, प्रधानमन्त्री विदेशमा छन् । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी सबै दलका मुद्दा छन्, मिलेमतो गरिरहेका छन्, उनीहरुबाट आशा छैन । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टीको प्रधानन्यायाधीशलाई महाभियोग लगाउने औकात छैन । तैपनि कुनै पार्टीले ल्याउँछ भने हामी विचार गर्छौं ।”

एक जना व्यक्तिले छाड्दा ठीक हुन्छ भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले थपे, “न्यायालयको यति धेरै बेइज्जती र बदनामी कहिल्यै भएको थिएन । व्यक्ति कहीँ पनि ठूलो हुन्न, संस्थाको महत्त्व ठूलो हुन्छ । एक जनाको कारण इजलास बन्द हुन्छ, न्यायाधीशबीच विभाजन हुन्छ भने किन राजीनामा नदिने ?”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सडकको दबाबबाट राजीनामा देऊ नभनिएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *