लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको शानदार जित

एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेपछि जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेन्फिकालाई ५-२ गोल अन्तरले हराउँदै बायर्नले अन्तिम १६ को टिकट काटेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सेर्जे ग्नाब्री र लेरोइ सानेले एक/एक गोल गरे । बेन्फिकाको लागि मोराटो र डार्विन नुनेजले एक/एक गोल गरे । खेलको २६ औं मिनेटमा कोमानको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा अगाडि बढाएका थिए । ३२ औं मिनेटमा लेवान्डोस्कीको पासमा ग्नाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

३८ औं मिनेटमा ग्रिमाल्डोको पासमा मोराटोले गोल गर्दै बेन्फिकालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । अतिरिक्त समयमा लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्नले गोल अन्तर बढाउने मौका गुमाएको थियो । तर ४९ औं मिनेटमा डाभिएसको पासमा सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा सानेको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४-१ गोलको अग्रता दिलाए ।

७४ औं मिनेटमा मारियोको पासमा नुनेजले गोल गर्दै बेन्फिकालाई ४-२ गोलको स्थितिमा ल्याए । ८४ औं गोलकिपर निउरको पासमा लेवान्डोस्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेर बायर्नलाई ५-२ गोलको शानदार जित दिलाए । जितसँगै लगातार चौथो खेलमा जित निकालेको बायर्न १२ अङ्कको साथ समूह ‘ई’को शिर्ष स्थानमा यथावत छ । पराजित बेन्फिका ४ खेलबाट २ अङ्कको साथ तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *