लोकतन्त्र जोगाउन नयाँ पार्टी गठनः स्वास्थ्य मन्त्री खतिवडा

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको बताएका छन् ।

युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले मंगलबार भक्तपुरको ठिमीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “एमाले नीति र सिद्धान्त प्रधान भएर चलेन, व्यक्ति प्रधान भएर चल्यो, पार्टी जिन्दावादको नारा लाग्न छाड्यो, व्यक्तिको जयजयकारको नारा लाग्न थाल्यो, त्यसैले स्वतन्त्र, स्वाभिमानी र समाजवादीका लागि लड्दै आएकाले नयाँ पार्टी गठन गर्यौं ।”

खतिवडाले पार्टीको सङ्गठन विस्तारका लागि देशव्यापी अभियान चलाउनुपर्नेमा जोड दिदैं आगामी निर्वाचनमा नेकपा (एकीकृत समाजबादी) पार्टी सबैभन्दा ठूलो हुने विश्वास व्यक्त गरे । उनले भने, “आगामी चुनावमा एमालेले अन्य दलसँगको तालमेल नगरी एक्लै चुनाव जित्न सक्दैन, आगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा बढी सिट ल्याएर देखाइदिन्छ ।”

कार्यक्रममा एकीकृत समाजवादीका नेता डा राजेन्द्रमान श्रेष्ठ, युवा सङ्घका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादी जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा युवा सङ्घका नेता दीपक थापालगायतले पार्टी विस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *