एमाले महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन् ।

महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा पाँच लाख रुपैयाँसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए । उनले भने, “अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौँ । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।”

उनले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसङ्गठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिए ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गरेका थिए । एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *