चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्याधाम विश्वको सबैभन्दा दर्शनीय पवित्रस्थल बन्ने बताएका छन् । अयोध्याधामको मंगलबार अवलोकनपछि उनले रामको जन्मभूमि अयोध्यामाडीमा नै भएको धेरै कुराले प्रमाणित भइसकेको बताए ।
अध्यक्ष ओलीले भने, “धर्म शास्त्रका कुराले प्रमाणित भइसकेको छ ।” भारतको अयोध्यालाई १५० वर्ष अघिसम्म अयोध्या नभनी त्यतिबेला फैजावाद भन्ने गरिन्थ्यो ।” थारुहरुको लाठीनाचसमेत भगवान् रामका पालामा वन्यजन्तु धपाउने क्रमको विकासको स्वरुप रहेको उनको भनाइ थियो ।
राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसँगै मन्दिरको दर्शनपछि उनले भने, “भगवान् राम आफ्नो जन्मभूमिमा आउनुभएको छ । सँगै लक्ष्मण, सीता र हनुमान पनि हुनुहुन्छ ।” अत्याचार भयो भने हात जोडेर बसेका हनुमानले गधा उठाउने ओलीको भनाइ थियो । उनले थपे, “दानवीय प्रवृत्तिका मानिस होसियार हुनुपर्छ ।” माडीलाई मणि बनाउन राम फर्किएर आउनुभएको भन्दै उनले अब माडी मणि बन्ने बताए ।
माडीमा भक्तजनको घुइँचो लाग्ने भन्दै ओलीले भने, “दर्शनका कुरा गर्ने होइन । इतिहास र पहिचानको कुरा हो यो ।” पहिचान र इतिहास उत्खनन गर्दै जाने भन्दै उनले यो सत्यको पक्षमा रहेको बताए । रिउखोला पहिले रेवा भएको भन्दै त्यसअघि सरेउ भएको र यो धर्म शास्त्रमा समेत उल्लेख भएको उनको जिकिर थियो । आउँदो निर्वाचनमा आफ्नो पार्टीको जितसँगै धामको विकासको काम गरिने उनले बताए । उनले भने “एक डेढ वर्ष बजेटको आश नगर्नुस निर्वाचनपछि सबै हुन्छ ।”
कार्यक्रममा नेकपा (एमाले)का नेता प्रभू साहले देश बनाउन सकिन्छ भन्ने सन्देश दिन चितवनमा पार्टीको महाधिवेशन गर्न लागिएको बताए । उनले नेकपा माओवादी केन्द्रका असल मान्छे एमाले आइसकेको जिकिर गरे ।
कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष श्याम विष्ट, स्थानीय नेता श्री दवाडीलगायतले अयोध्याधामको बारेमा जानकारी गराएका थिए । ओली प्रधानमन्त्री भएको समयमा माडी नगरपालिका–९ को अयोध्यापुरी रामको जन्मभूमि अयोध्या भएको भन्दै आफ्नै खर्चमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाएका थिए । सो क्षेत्रको १०० बिघा जमिनमा अयोध्या धाम बनाउने गरी मन्दिर निर्माण गरिएको छ । यो चितवन क्षेत्र नम्बर ३ मा पर्दछ । यस ठाउँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् ।