हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटो पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशले छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिर्गमन हुने बताएका हुन् । प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बहिर्गमनको कुरा गरेको उल्लेख गर्दै पौडेलले त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने बताए । पौडेलले राजीनामा गर्न ढिलाई गर्दै गए बहिर्गमन अपमानजनक हुने बताए ।
पौडेलले प्रधानन्यायाधिशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोप लगाए ।
उनले भने, ‘ उहाँले छिटो छोडनु हुन्छ, त्यति सम्मानजनक हुन्छ । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन् ।’ पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।