भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई शून्य बनाउने

भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई नेट जिरो बनाउने अर्थात् जति उत्सर्जन गर्यो उति नै परिमाणमा नवीकरणीय ऊर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्याउने वाचा गरेको छ ।

कोप२६ सम्मेलनले भने देशहरूलाई उक्त लक्ष्य सन् २०५० सम्ममा हासिल गर्न सिफारिस गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लास्गोमा घोषणा गरेको नेट जिरोको यो नयाँ लक्ष्य भारतले जनाएको पहिलो प्रतिबद्धता हो ।

नेट जिरो अर्थात् कार्बन न्यूट्रल बन्ने भन्नुको अर्थ वायुमण्डलमा हरित गृह ग्यासको मात्रा नथप्नु भन्ने हो । चीनले भने सन् २०६० सम्ममा कार्बन न्यूट्रल बनाउन आफ्ना योजनाहरू घोषणा गरेको छ ।

तर अमेरिका र युरोपेली सङ्घले भने त्यो अवस्थामा सन् २०५० भित्रै पुग्ने लक्ष्य राखेका छन् । सन् २०७० सम्ममा नेट जिरोको भारतको लक्ष्यले ग्लास्गोमा विज्ञहरू र अभियानकर्मीलाई निराश तुल्याएको हुनसक्छ तर मोदीले आफ्नो देशका मानिसलाई भने प्रभावित पारेको देखिएको छ । प्रधानमन्त्री मोदीले आफ्नो देशका तर्फबाट पाँच वटा प्रतिबद्धता जनाएका छन् ।

त्यसमा सन् २०३० सम्ममा नवीकरणीय स्रोतहरूबाट आधा हिस्सा ऊर्जा उत्पादन गर्ने र त्यही वर्षभित्र कूल प्रक्षेपित कार्बन उत्सर्जनलाई एक अर्ब टनमा घटाउने रहेको छ । ग्लास्गोमा भइरहेको दुई साता लामो सम्मेलनका लागि भाग लिन विश्वका १२० भन्दा बढी नेताहरू भेला भएका छन् ।

विश्वमा चीन, अमेरिका, युरोपेली सङ्घपछि धेरै कार्बन उत्सर्जन गर्ने चौथो देशमा भारत पर्छ । सन् २०१९ मा भारतले प्रतिव्यक्ति १.९ टन कार्बन डाइअक्साइड उत्सर्जन गर्यो। त्यही वर्ष अमेरिकाले प्रतिव्यक्ति १५.५ टन र रुसले १२.५ टन कार्बन उत्सर्जन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *