एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने खेलमा म्यानचेस्टर युनाइटेड र एटलान्टा भिड्दैछन् । गेविस रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
समूह ‘एफ’मा रहेका शिर्ष दुई टोली आजको खेलमा जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । प्रतियोगिताको पछिल्लो खेल युनाइटेडसँग ३-२ गोलले पराजित भएको एटलान्टा आजको खेलमा बदला लिन चाहन्छ । उक्त खेलको पहिलो हाफमा २-० गोलको अग्रता लिएपनि दोस्रो हाफमा समालिन नसक्दा ३ गोल बेहोर्दै हार स्विकारेको थियो ।
त्यसपछि घरेलु लिग अन्तर्गत भएको ३ खेलमा एटलान्टाले २ बराबर र १ जितको नतिजा निकालेको थियो । हाल एटलान्टा सिरि एको ११ खेलबाट १९ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । एटलान्टाले पछिल्लो दुई सिजनमा प्रतियोगिताको क्वाटरफाइनल र अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । तर एटलान्टाले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको ९ खेल मध्य ३ खेलमा मात्र जित निकालेको छ ।
यता युनाइटेड भने प्रतियोगितामा लगातार तेस्रो जित निकाल्न चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा योङ ब्वाइजसँग स्तब्ध भएको युनाइटेडले दोस्रो र तेस्रो खेलमा भिल्लारियल र एटलान्टामाथि शानदार पुनरागमन जित निकालेको थियो । गत हप्ता घरेलु लिगमा लिभरपुलसँग ५-० गोलको लज्जास्पद हार बेहोरेपनि युनाइटेडले शनिबार भएको खेलमा टोटेन्हामलाई ३-० गोलले हराउँदै लय समात्ने प्रयास गरेको हो ।
हाल युनाइटेड ३ खेलबाट ६ अङ्क जोड्दै समूह ‘एफ’को शिर्ष स्थानमा रहेको छ । एटलान्टापनि समान खेलबाट ४ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।
आज हुने अन्य खेलहरु
माल्मो विरुद्ध चेल्सी (राति ११:३० बजे)
वोल्फ्सवर्ग विरुद्ध साल्जबर्ग (राति ११:३० बजे)
बायर्न म्युनिख विरुद्ध बेन्फिका (राति १:४५ बजे)
ड्यानामो किभ विरुद्ध बार्सिलोना (राति १:४५ बजे)
युभेन्टस विरुद्ध जेनिट (राति १:४५ बजे)
सेभिला विरुद्ध लिल (राति १:४५ बजे)
भिल्लारियल विरुद्ध योङ ब्वाइज (राति १:४५ बजे)