एजेन्सी । इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इङ्ल्यान्ड जारि प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो ।
जितको लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ३७ रनमै समेटियो । श्रीलंकाको लागि हासाराङा डे सिल्भाले २१ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए । यस्तै भानुका राजापाक्सा र डासुन शानाकाले २६/२६ रन जोड्दा चारिथ असालान्काले २१ र अभिश्का फेर्नान्डोले १३ रनको योगदान गरेपनि जितको लागि पर्याप्त रहेन ।
इङ्ल्यान्डको लागि मोइन अली, अदिल रसिद र क्रिस जोर्डानले २/२ विकेट लिँदा क्रिस वोक्स र लिएम लिभिङस्टोनले एक/एक विकेट लिए ।
यसअघि शरजाह क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले जोस बट्लरको सतकको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । बट्लरले बिस्फोटक ब्याटिङ गर्दै ६७ रनमा ६ छक्का र ६ चौकासहित १ सय १ रन जोडे । इयोन मोर्गानले ३६ बलमा ३ छक्का र १ चौकासहित ४० रन बनाउँदा जेसन रोएले ९ र डेविड मलानले ६ रनको योगदान गरे ।
श्रीलंकाको लागि वानिन्डु हासाराङा डे सिल्भाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । डुश्मान्था चामेराले ४ ओभरमा ४३ रन दिएए १ विकेट लिए ।
प्रतियोगितामा लगातार चौथो जित निकालेको इङ्ल्यान्ड ८ अङ्कको साथ समूह १ को शिर्ष स्थानमा रहेको छ । पराजित श्रीलंका ४ खेलबाट २ अङ्क जोड्दै चौथो स्थानमा रहेको छ ।