न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहारः नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत एवं छठपर्वको अवसरमा मनमैजुमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा सिटौलाले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्नुस्, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ”, नेता सिटौलाले भने । पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिटौलाले न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गरे ।

“कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान गरेको छ, आवश्यक परे न्यायालयको झगडामा पनि समाधान दिन सक्छ”, उनले भने । संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भए पनि अघिल्लो सरकारले संविधानले दिएका विषय अगाल्न नसक्दा सरकार परिवर्तन भएको उनले उल्लेख गरे ।

कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको बताए । उनले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *