भारतको लगातार दोस्रो हार, सेमिफाइनल पुग्ने सम्भावना कठिन

एजेन्सी । भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार बेलुकी भएको खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएसँगै भारतको समिफाइनल पुग्ने सम्भावना कठिन बनेको हो । अब समूह चरणको बाँकी ३ वटै खेल जितेपनि भारतले सेमिफाइनल प्रवेशको लागि अन्य टोलीको नतिजा पर्खिनुपर्नेछ ।

जितको लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । न्युजिल्यान्डलाई जित दिलाउन डार्यल मिट्चेलले ३५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन जोडे । यस्तै कप्तान केन विलियमसनले ३१ बलमा ३ चौकासहित ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे ।

भारतको लागि जस्प्रित बुम्राले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन जोडेको थियो । भारतको लागि रविन्द्र जडेजाले १९ बलमा २ चौका र १ छक्कासहित २६ रन जोडे । यस्तै हार्दिक पाण्ड्यले २३, केएल राहुलले १८, रोहित शर्माले १४ र ऋषव पन्तले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । ईश सोधिले ४ ओभरमा १७ रन दिएर २ विकेट लिँदा टिम सोउदी र एडम मिल्नेले १/१ विकेट लिए ।

जितसँगै न्युजिल्यान्ड २ खेलबाट ३ अङ्क समूह २ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित भारत समान खेलबाट अङ्कविहिन रहँदै पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *