प्रज्जवल थापा, दुलेगौंडा । छब्दी देउरालीमा आजबाट प्रथम साविक गाउँ तथा वडास्तरीय पुरुष/भेट्रान्स भलिबल प्रतियोगिता शुरु भएको छ । छब्दी देउराली युथ क्लबको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीस्थित कुसुन्डे खेल मैदानमा शुरु भएको प्रतियोगिताको आइतबार उद्घाटन भएको हो । प्रतियोगिता २०७८ कार्तिक १८ गतेसम्म चल्नेछ ।
क्लबका अध्यक्ष सुमन खड्काको सभातित्वमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा सफल उद्धमी व्यवसायी विकास श्रेष्ठ रहेका थिए । यस्तै विशिष्ट अतिथिको रुपमा वडा नम्बर १० का वडाअध्यक्ष रामचन्द्र पौडेल रहेका थिए । कार्यक्रममा उपस्थित वडा खेलकुद विकास समितिका संयोजक जिवन भट्टराई क्षेत्री, वडा सदस्य केशव बहादुर थापा, राजेन्द्र भट्टराई, राधा देवि पौडेल र विनु विकसँगै छब्दी माविका सह-प्रधान अध्यापक कृष्ण पाठकले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
यसअघि २०७८ वैशाख २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने भनिएकाे प्रतियाेगिता कोभिड-१९ को बन्दाबन्दीको कारण स्थगित भएको थियो । तर पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको र खेलकुद गतिविधि पनि चलायमान हुँदै गएपछि प्रतियोगिता संचालन गरिएको खेल संयोजक भोजराज विकले नेपाल समाजलाई बताए ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ शुरु भएको प्रतियोगितामा भलिबलसँगै छेलो हान्ने, घैंटो फुटाउने र म्युजिकल चियर प्रतियोगिता पनि हुनेछ । यस्तै क्रार्यक्रमको आकर्षणको रुपमा धार्मिक तथा पर्यटन क्षेत्र अवलोकन, स्थानीय आमा समूहबाट सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने आयोजकले बताएको छ ।
प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन हुने टोलीले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउँदा तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र दिईनेछ ।
भेट्रान्सतर्फ पहिलो स्थान हात पार्ने टोलीले खसीसहित मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टोलीले बोकासहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छ । यस्तै वेस्ट स्पाइकर, वेस्ट डिफेन्डर, वेस्ट लिफ्टर, वेस्ट प्लेयर, अनुशासित खेलाडीलाईपनि शिल्ड, मेडल र प्रमाण पत्रकासाथ सम्मान गरिनेछ ।
यो पनि:- लामागाँउको विजयी शुरुवात